३ असोज, किमाथांका । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई समेत अनुसन्धानमा तानेको छ ।
एकै परिवारका ६ जनाको हत्या भएको उक्त घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशंकामा अनुसन्धान शुरु गरेको उनले बताएका छन ।
एसपी राईका अनुसार घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । नियन्त्रणमा लिएका अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको एसपी राईले बताए ।
मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल पुगेको हो । घटनाबारे थप प्रमाण फेला परेपछि संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए ।
गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । लोकबहादुरले ६ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जनामाथिसमेत प्रहरीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटनाको सात दिनपछि आरोपी लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो ।
प्रतिक्रिया